हाम्रो जनकल्याण साकोसको सदस्य केन्द्रित अभियान

दोलखाको चरिकोटमा रहेको हाम्रो जनकल्याण साकोस सदस्यको सहारा बन्दै गएको छ । शहर केन्द्रित केहि सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकिरहेका बेला हाम्रो जनकल्याण साकोस भने सदस्यको सहारा बन्दै गएको हो । सहकारीले सदस्यको सुखदुखमा अभिभावकको भूमिका खेल्दै आएको छ । महिला सदस्य सुत्केरी हुँदा अस्पताल पुर्‍याउन एम्बुलेन्सको व्यवस्था मिलाउने देखि केहि नहुने सदस्यलाई दशैंतिहार जस्ता चाडपर्वमा राशनको समेत व्यवस्था गरिदिने काम संस्थाले गर्दै आएको छ । सदस्यहरुलाई केन्द्रमा राखेर संस्थाले सेवा प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताउँछन् । सदस्यहरुको लिभिङ स्टाण्डर्ड माथि उठाउन संस्थाले केहि अभ्यासको थालनी गरेको उनको भनाई छ । सदस्यले मेरो संस्था हो भन्ने महशुस गराउन, नियमित कारोबारसँगै आपतविपतमा पनि संस्था सँगै छ भन्ने सन्देश दिएको छ । विपतबाट हुने क्षतिमा सदस्यहरुलाई ५ हजार आर्थिक सहयोग गर्ने गरेको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र स्थापना दिवसमा १५ सय रुपैया उपलब्ध गराउने, सदस्य हितकोषमार्फत सदस्यको मृत्यु हुँदा ३५ हजारसम्म आश्रित परिवारलाई सहयोग गर्ने गरेको छ । गत २ वर्षमा ४५ जनाले उक्त सुविधा लिएको रु १० लाख माथि रकम भुक्तानी भएको उनले बताए । २०६९ सालबाट नै संस्थाले सुत्केरी हुने महिलालाई बर्थिङ सेन्टरसम्म जान एम्बुलेन्सको व्यवस्था मिलाउँदै आएको छ । सरकारले सुरक्षित जन्मदरको लागि बर्थिङ सेन्टर बनाएको भएपनि पैसाको अभावले कतिपय सदस्य अस्पताल नजाँदा आमा र बच्चाको ज्यान गएको छ । त्यसलाई मध्यनजर गरेर संस्थाले एम्बुलेन्स चढेर अस्पताल जान र त्यस वापत लाग्ने रकम संस्थाले सदस्यलाई भुक्तानी गर्ने गरेको छ । २ वटा बच्चा जन्मिँदासम्म १५ सयका दरले एम्बुलेन्स भाडा प्रदान गर्दै आएको छ । जटिल अवस्थामा जिल्ला भन्दा बाहिर गएर पनि बर्थिङ्ग गर्नुपर्ने अवस्थामा संस्थाले त्यहाँसम्मको एम्बुलेन्स खर्च व्यहोर्दै आएको भएपनि पछिल्लो समय भने त्यसलाई निरन्तरता दिन नसकेको उनले जानकारी दिए । संस्थाले हरेक उमेर समुहका सदस्यलाई लक्षित गरेर योजना बनाउने गरेको छ
सहकारी शिक्षामा जोड
सदस्यहरुलाई टोलटोलमा भेला गराएर सहकारीको बारेमा बुझाएर सदस्यबाट बचत संकलन गर्ने काम संस्थाले गर्दै आएको छ । संस्थाले सहकारी शिक्षा र विस्तारित मञ्चलाई सदस्यको बाक्लो बसोबास भएको क्षेत्रमा नियमित रुपमा गर्दै आएको छ । पूर्व सहकारी शिक्षा कार्यक्रम चलाएर मात्रै संस्थामा सदस्य बनाउने गरेको उनले जनाए । २७ वर्षको अवधिमा संस्थाले ५ वटा संस्थासँग एकिकरण गरेको छ । संस्थाले पछिल्लो समय जिल्ला भर कार्यक्षेत्र बनाएको भएपनि भिमेश्वर नगरपालिकामा नै केन्द्रित रहेर वित्तीय काराबोर गर्दै आएको छ । संस्थाले एउटा मुख्य कार्यालयसँगै एउटा बचत संकलन केन्द्र र एक सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । ‘समृद्ध सदस्य सर्वोत्कृष्ट संस्था’ को दुरदृष्टि संस्थाले बनाएको र सदस्यलाई नै प्राथमिकतामा राखेको उनले सुनाए । संस्थाले समृद्धिका लागि केहि इण्डिकेटरहरु बनाएको र ६० प्रतिशत इण्डिकेटर पुरा गरे भने समृद्ध सदस्य हुन सक्ने उनको भनाई छ । दिगो विकास लक्ष्यसँग मिल्ने गरी संस्थाले कार्यक्रम बनाएको छ। कोभिडका कारण व्यवसाय ठप्प भएपछि त्यसलाई सूचारु गर्न संस्थाले पुनर्लगानी गरेको थियो भने नयाँ व्यवसाय गर्न चाहनेको लागि विपत सहुलियत ऋण दिएको थियो । त्यहि समयमा गरेको कतिपय ऋण अहिले समस्यामा रहेको बस्नेतले बताए ।
वित्तीय संरचना तथा परिचालन
यस आर्थिक वर्षको माघ मसान्तसम्म संस्थाको शेयर पुँजी ६ करोड २४ लाख, बचत ६४ करोड ९८ लाख, ऋण लगानी ६१ करोड ९४ लाख, संस्थागत पुँजी ५ करोड ७४ लाख गरी कुल सम्पत्ति ८१ करोडमाथि रहेको छ । संस्थाको बाह्य ऋण शुन्य छ । संस्थामा ३६ वटा संस्थागत सदस्य रहेका छन् । अनुत्पादक क्षेत्रमा धेरै ऋण लगानी नहुँदा असुलीमा त्यति धेरै समस्या नरहेको उनले बताए । कुल ऋण लगानीमध्ये ५२ प्रतिशत व्यापार, १९ प्रतिशत घरजग्गा र बाँकी कृषि, पशुपालन र स्वरोजगार क्षेत्रमा रहेको छ । राष्ट्र बैंकको नीति अनुसार घरजग्गामा २५ प्रतिशत भन्दा कम ऋण लगानी गर्ने नीति संस्थाले लिएको छ । संस्थाको कुल बचतमध्ये मासिक बचतको हिस्सा ३६ प्रतिशत र आवधिक बचतको १७ प्रतिशत भएकाले ठूलो लागत बोक्ने बचत नलिएको उनले जनाए । संस्थामा १४,१५ वटा बचतका योजना रहेका छन् । बचतमा ६ देखि १२ प्रतिशतसम्म ब्याज दिइएको छ । ऋणमा १०र११ वटा प्रकार रहेका छन् भने ब्याजदर ११ देखि १४ प्रतिशतसम्म रहेको छ । संस्थाले सन्दर्भ ब्याजदरभन्दा तल रहेरै ऋण लगानी गर्दै आएको छ । संस्थाको ध्येय लाभांश वितरण गर्ने नभई सदस्यलाई सेवा दिने रहेको छ । सदस्य सन्तुष्ट भए भने उनीहरुले लाभांश खोज्दैनन् भन्ने मान्यता संस्थाको रहेको छ । नाफा नै मुख्य नभएको र सामाजिक गतिविधिलाई प्राथमिकतामा राखेर संस्था अगाडि बढेको छ । संस्थाले बचत तथा ऋणका प्रडक्ट ट्रयाडिसनल भएको भन्दै त्यसलाई क्रमशः परिमार्जन गर्दै लगेको छ ।
सामाजिक गतिविधि
सामाजिक गतिविधिमा पनि संस्था त्यत्तिकै सक्रिय छ । संस्थाले समयसयमा विभिन्न गतिविधि गर्दै आएको छ । बचत ऋणको कारोबारबाट मात्र संस्थालाई दिगो बनाउन नसकिने हुँदा सामाजिक क्रियाकलापलाई पनि सँगसँगै लगिएको उनले बताए । संस्थाले सार्वजनिक विद्यालय, स्थानीय तह र विभिन्न संघसंस्थासँग सहकार्य गरेर सामाजिक कार्य गर्दै आएको छ । संस्थाले ४ वर्षदेखि माध्यमिक तहका विद्यार्थीहरुबीच धावक दौड प्रतियोगिता गर्दै आएकोमा त्यसमा उत्साहजनक सहभागिता रहेको छ । अब सहकारीको सदस्य को हो भन्ने चुनौति रहेकाले विद्यार्थीमाझ सहकारी शिक्षा सञ्चालन गर्दै उनीहरुमा सहकारीका विषयमा सचेतना ल्याउने गरेको उनले बताए । संस्थाले विभिन्न विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्ने गरेको छ । त्यसैगरी सदस्यहरुलाई स्वस्थ रहनको लागि धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य क्याम्प र अन्तक्र्रिया कार्यक्रम गर्ने गरेको छ । एकल महिला वा पुरुषका छोराछोरीलाई ६ देखि १२ कक्षासम्म पढ्न संस्थाले वार्षिक २५ सय रुपैया उपलब्ध गराउँदै आएको छ भने बुबाआमा दुवै नभएको र संस्थाको आवद्ध सदस्य वा सो परिवारका छोराछोरीलाई समेत वार्षिक २५ सय प्रदान गर्ने गरिएको छ । संस्थाले नागरिक प्रतिक्षालय, रक्तदान, वातावरण संरक्षण र भिमेश्वर नगरपालिकासँग सहकार्य गरेर फोहोर व्यवस्थापन जस्ता क्रियाकलाप गर्दै आएको छ ।
उद्यमशीलता विकासमा फड्को
सहकारीका सदस्यलाई उद्यमशीलतामा जोड्न संस्था लागिपरेको छ । यहाँको अर्गानिक उत्पादन के हुनसक्छ रु त्यो उत्पादनलाई कसरी बजारमा लैजान सकिन्छ भनेर विभिन्न उत्पादनलाई छनौट गरेको उनले सुनाए । संस्था चकटीको ब्राण्डलाई देशभर पुर्‍याउने अभियानमा लागेको छ । सदस्यले मकैको खोस्टाबाट बनाएको चकटीको बजारीकरण गर्ने गरेको उनको भनाई छ । महिला सदस्य संस्थामा धेरै रहेको र उनीहरुले घरमा नै बसेर चकटी बुन्न सक्ने भएकाले धेरै जना स्वरोजगार बन्न थालेका छन् । अपाङ्गता भएका सदस्यले पनि चकटी बनाउँदै आएका छन् । गत वर्ष देखि अपाङ्गता भएका सदस्यहरुलाई उद्यमशीलतामा जोड्न थालिएको र अपाङ्गता भएका व्यक्ति सदस्य बन्न आए प्रवेश शुल्क मिनाहा गर्ने गरेको उनले बताए ।
उद्यमशीलता प्रवद्र्धनका लागि केहि व्यक्तिलाई हरेक वर्ष प्रविधि हस्तान्तरण गर्दै आएको तथा ढाका र ऊनीको कपडा बनाउने तालिम दिने गरेको छ । संस्थाले कस्मेटिकलाई भन्दा पनि आफ्नै सदस्यले उत्पादन गरेका वस्तु प्रयोगमा जोड दिएको छ । संस्थाले ऋण दिएर व्यवसायिक बनाएको छ । संस्थाले ऋण सदुपयोगिताको अभ्यास हेर्न थालेको र सदस्यले ऋण लगेर कसरी व्यवसाय गर्दै आएका छन् भनेर स्थलगत रुपमा नै निरिक्षण गर्न थालेको छ । संस्थाका सदस्यहरुले मकैबारी क्षेत्रमा अफसिजन सागसब्जी उत्पादन गर्दै आएका छन् भने उनीहरुले उत्पादन गरेको साग काठमाण्डौमा खपत हुँदै आएको छ । संस्थाले सदस्यको व्यवसाय व्यवस्थापन गर्न सघाउँदै आएको छ । सदस्यको उत्पादनलाई बजारसम्म पुर्‍याउन र उनीहरुलाई निरन्तर व्यवसायमा लगाइरहने उद्देश्यले सहजिकरण गर्दै आएको हो । संस्थाले समुहमार्फत बचत परिचालन गर्दै आएको छ । धुलिखेल अस्पतालको सहकार्यमा बचत परिचालन कार्यक्रम शुरु गरेको र स्वास्थ्य तथा आइजिएको कार्यक्रम समेत गर्दै आएको छ । एउटा समुहमा १० जना महिला हुने र त्यसमध्ये ९ जनाले ऋण सुविधा लिन सक्छन् । एक जनाले २ लाख रुपैयासम्म ऋण लिन पाउने व्यवस्था रहेको छ ।
संस्थागत सुशासनमा बलियो
संस्थागत सुशासन संस्थाको पहिलो ध्येय रहेको छ । संस्थाले २०७० सालबाट सञ्चालक हुन चाहने व्यक्तिलाई सञ्चालकहरुको पूर्व नेतृत्व क्षमता विकास तालिम सञ्चालन गर्दै आएको छ । उक्त तालिममा सहभागी नभई संस्थाको सञ्चालक समिति सदस्य नपाइने व्यवस्था रहेको छ । त्यसले गर्दा संस्थाको नेतृत्व सक्षम व्यक्ति आउने गरेका छन् । त्यसैगरी अन्य कुनै सहकारी संस्थामा सदस्य नलिएको व्यक्तिमात्र संस्थाको सञ्चालक हुन पाउने व्यवस्था गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारी एउटामात्र सदस्य बन्न पाउँछन् । निजामति, शिक्षक वा अन्य सार्वजनिक सेवामा रहेका व्यक्ति संस्थाको सञ्चालक हुन पाउँदैनन् । संस्थाको सञ्चालक समितिमा महिला र पुरुष ५०,५० प्रतिशत हुने व्यवस्था लागु गरिएको छ । सहकारी ऐनले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेको छ ।
एक्सेस ब्राण्ड
संस्था नेफस्कुनले सञ्चालन गरेको एक्सेस ब्राण्ड कार्यक्रममा २०६९ सालबाट आवद्ध रहेको छ । संस्थाले एशिया स्तरको उक्त ब्राण्ड २०७५, ७६ र ७७ प्राप्त गरिसकेको छ । त्यसयता भने ऋण असुलीमा समस्या भएपछि अडिट गर्न नसकेको तर प्रक्रियामा भने रहेको सीइओ बस्नेतले बताए । एक्सेस कार्यक्रमले वित्तीय अनुशासन कायम गर्न सहयोग मिलेको उनको अनुभव छ । सम्पत्ति शुद्धिकरणको लागि संस्थाले एक कानुन अधिकृत नियुक्त गरेको छ । दुईचार जनाले मात्रै हालिमुहाली गर्दा सहकारीमा समस्या आएको भन्दै उनले भने ‘हामी संस्थाका हरेक गतिविधिमा बढी भन्दा बढी सदस्यलाई सहभागी गराउँछौं ।’ संस्थाले कानुन पालना कडाईकासाथ गर्दैै आएको र हरेक कुरालाई पारदर्शी रुपमा बाहिर ल्याउने गरेको छ । प्रोफेसनल सिएबाट संस्थाको अडिट गर्ने गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *