गण्डकीमा कांग्रेसले प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति

काठमाडौं । गण्डकीमा नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति जनाएको छ । बुधबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्तिमार्फत प्रदेश प्रमुखको कदम गैरजिम्मेवार रहेको बताएका छन् । सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरू गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो ।

गण्डकी प्रदेशमा सभाभुख समेतको संलग्नतामा गत चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त कदमलाई असंवैधानिक भन्दै कांग्रेस २७ गते सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले चैत २८ गते हालको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्म प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न भनेर अन्तरिम आदेश जारी गरेको छ । उक्त मुद्दालाई अग्राधिकार दिएर सर्वोच्चले वैशाख १० गतेका लागि पेसी तोकेको छ । कांग्रेसले अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गरेर गरिएका असंवैधानिक क्रियाकलापुप्रति असहमति रहेको जनाएको छ । उसले यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने र यसको जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *