एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४, चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह–व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारीको रकम ठगी गरेको कसुरमा पक्राउ परेकालाई वृत्त अन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ ।

बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले जानकारी दिए । सहकारी सञ्चालक समितिका सचिव समेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । यी सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडित संघर्ष समिति अन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *