सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् । भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन ।

कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार देखी २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्यूआरकोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ई.एम.आइ को सुविधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशत देखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *